राम नाम सत्य हो
Ram Naam Satya Ho
बजाएर एकोहोरो शङ्खनाद,
ओढाएर आफूलाई कात्रो,
पोख्दै दोबाटोमा बुर्की,
भन्दै, राम नाम सत्य हो
महाप्रस्थान गरेको थिएँ आफ्नै मलामी,
राखेर आफूलाई अर्थीमा।
सोचेको थिएँ,
पार्थिव भावनाहरूको चितारोहणपछि,
दिएर आफूलाई मुखाग्नि,
हेरी बसौँला एकछिन आफ्नै चिता
आगो हेरौँला,
धुवाँ हेरौँला,
कोइला, खरानी हेरौँला,
र फर्किउँला आफ्नै अन्त्येष्टि गरेर।
तर फर्काइदियो श्मशानकर्मीले,
नपुग्दै मसानघाटको द्वारमा,
भन्दै थियो,
ओइ मनुवा !
श्मशानघाटभन्दा ठूलो घाट
तेरै मनमा छ, जा उतै
मन भएको मान्छेलाई घाटमा निषेधित गरिएको छ।
अर्थी लिएर घाट गएको म,
घाटेको अर्ती लिएर फर्किएँ।
फर्केपछि आफ्नै शवयात्राबाट
यात्रा गरेँ मैले आफ्नै मनघाटको
दाहसंस्कार गर्दै मनभित्रका एक एक लासहरू,
हुर्काउँदै गएँ अनाथ प्रेम।
आफ्नै खरानीबाट जन्माएर
ल्याइदिएको छु तिमीलाई उपहार,
त्यही काट्टो प्रेम
भन तिमी आस्तिक हौ या नास्तिक?
यो परम्परा निर्माण गर्ने कविहरूबारे पढ्नुहोस्: नेपाली कविहरू।