म लेख्न चाहन्थेँ कविता
तर मसँग थिएन
कागजको संसार।
उनले फुकालेर दिईन
आफ्नै वदनको सेतो सारी
र भनिन,
कलममा मसी कति बाँकी छ?
मैले बायाँ हात काटिदिएँ आफ्नै
र भनेँ,
अब कलममा मसीको कमी छैन।
कविताको तेस्रो हरफमा पुग्दा
म वरिपरि छरिएका छन्
दुनियाँका सारा बायाँ हातहरू।
मलाई लाग्यो म स्रष्टा हुन पुगेँ
तिमी हुन पुग्यौ सृष्टि
र सृजना हुँदैछ एउटा क्रान्तिकारी कविता।
…….
यही कारण हो
सृष्टि, सृजना र सर्जकको
कुरा हुनु हुँदैन।
म त चाहन्छु मेरो कविता
कहिल्यै पूरा हुनु हुँदैन।
ए मर्द दैवले सिर्जेको
नामर्द दुनियाँ,
मैले मेरी बिधवा श्रीमतिको
सेतो सारीमा लेखेको कविता त
तैले बुझिनस्
तर
तँ भित्र मेरो कविताको शीर्षक सोध्ने हिम्मत
नभएकै हो त?