सङ्कल्प

सेप्टेम्बर 4, 2026 · कविताहरू · 3 मिनेट पढाइको समय

जुन संसार थियो
तिम्रो मेरो
रहेन आज।

उर्लेर
आएको थियो प्रलय
समुन्द्र रेगिस्तान भयो
पहाड कब्रस्तान भयो
हावा जमेको छ बरफ भएर
जुनताराहरू गए अलप भएर

यो कुन चिहानमा छौँ हामी?
जहाँ एकअर्काको सती गएका छौँ
जिउँदो हुँदासम्म हामी टाढा थियौँ
लास भएपछि हामी 'एक' भएका छौँ

तिम्रो लास, मेरो काखमा सास फेर्दैछ
तिम्रो नजरले, ढलेको मेरो लास हेर्दैछ

जे बाँकी रहेका छन्
मान्छेका मसानहरू मात्र छन्
जे बाँची रहेका छन्
मान्छेका मसानहरू मात्र छन्

नराख मलाई यो मसानघाटमा
जल्नै पर्ने सङ्कल्प दिएर
म बाँच्न चाहन्छु मेरो जिन्दगी
हाम्रो अतितको रगत पिएर।