लाटो मनको नाङ्गो नाच
बाघचालमा चालिएका चालहरू
समुन्द्रमा तैरिएका छालहरू
बगिरहेको आकाशगङ्गा
आकाशमा उडेको चङ्गा
सियो धागो
लुगा फाटो
हुँदा हुँदै यी अभूतपूर्व तत्त्वहरू
ए मन, तँ किन यस्तो लाटो?
सिङ्गो बगैँचाको माली भएर
रक्तिम अधरहरूको लाली भएर
गाजल बनेर आँखाको
न्यानोपन पनि काखको
गन्तव्यको साटो
बनेर बाटो
बस्न सक्छस् राजा भएर
तर मन तँ किन यस्तो लाटो?
कठोर पहाडजस्तो उराठ
लासहरू बोकेको घाट
प्रेमीले सरापेको श्राप
द्वेष, रिस अनि पाप
धत् जाँठो!
काठोको पाटो
गाली गर्नैपर्ने बिउँझाउन
ए मन तँ किन यस्तो लाटो?