सतर्कता

सेप्टेम्बर 4, 2026 · कविताहरू · 2 मिनेट पढाइको समय

एकदिन
उर्लिनेछ बाढी
तिम्रो जिन्दगीमा पनि।

बगाउनेछ
तिमीले सजाएका रहरहरू।
उजाड हुनेछन्
तिम्रा कल्पनाका सहरहरू।

तिम्रो मन भत्किनेछ,
तिम्रो आस्था सक्किनेछ।
तिम्रो मनभित्रका मानिसहरू
पुरिनेछन् तिम्रै मुटुको बगरमा।

माग्नेछौ माफी आफ्नै कर्मको,
र नाङ्गिनेछौ आफ्नै अस्तित्वको नजरमा।

सहेबा,
आँखाको ग्लेसियर फुटेर
आँसुको बाढी आउन सक्छ
तिमी सतर्कता अपनाऊ।