राजनीति

अगस्ट 24, 2026 · कविताहरू · 2 मिनेट पढाइको समय

यो तिमीले कस्तो कूटनैतिक सम्बन्ध राख्यौ?
यो कस्तो तिमीले प्रेमको राजनीति गर्‍यौ?
ठुलो चतुराइपूर्ण खेल खेल्यौ
र ढाल्यौ मेरो विश्वासको सरकार।

तिमीलाई कसरी थाहा भयो?
मेरो मनपर्ने विषय राजनीति हो भनेर?

आफैले भोट दिएको सरकारले
आफ्नै उठिबास लगाउँदा पनि
उसैको गुणगान गाउने जन्तु हुँ म,
तिम्रो राजनीतिको बदलामा
म के नै पो विद्रोह गर्न सकुँला?

गर, जे–जे गर्नुछ आफ्नै मनको
मेरो मन तिम्रो नासो हुने छैन
तिमीले प्रेममा जे–जे गरे पनि,
मेरो कुनै गुनासो हुने छैन।