आफ्नो कोमल बदनमा
लगाएर आएकी थियौ
–सेतो साडी।
राखेर आफ्नो उन्माद थाती,
सरेको थिएँ म तिम्रो समीप
–कुनै दिन।
सेतो साडीमा कोरिदिएको थिएँ
प्रेमिल कविता तिम्रो बैँसको,
–मयूरको प्वाँखले, रगतको मसीले।
अनायासै फुकाल्यौ साडी,
फालिदियौ कविता आफ्नो लज्जासँगै,
र सुरु गर्यौ कहानी, तिम्रो मेरो।
अचेल आउँछ्यौ तिमी त्यही कोमल बदन लिएर,
साडी बिना, श्रृङ्गार बिना
र श्रृङ्गार्छौ मेरो अस्तित्व तिम्रो बदनले,
लेख्छौ कविता आफ्नै उन्मादले।
अनि हेरिरहन्छ हाम्रो कहानी,
ह्याङ्गरमा राखिएको तिम्रो सेतो साडी।