खै कुन मुडमा हो
महामहिम मञ्जुश्री
हिँड्नुभयो बेनाम यात्रामा
सोचे होलान्
कतै घुमेर फर्किउँला
वा कतै घर बसाउँला।
हिँड्दा हिँड्दै
उनी नपुग्नु पर्ने ठाउँमा पुगे
देखे पोखरी
लिए औजार
र खने खाल्टो
निकालिदिए भएभरको पानी।
पानी बिना मान्छे त बाँच्दैन
त्यो खाल्टोमा सहर के बाँच्थ्यो?
यस्तै
अर्का एक जना मुडीको आँखा लाग्यो
मञ्जुश्रीले खनेको खाल्टोमा
उसले उठायो हतियार
जित्यो युद्ध
बगायो रगतको खोला
र बनायो मसानघाटलाई मानव बस्ती
अहिले यो मानव बस्तीमा
मसान मात्रै बाँकी छन्।
रगत पिएर बनेको राजधानी
रगतकै राजधानी बन्न पुग्यो
र मागिरहन्छ यो खाल्टोले रगत
हरेक वर्षको वार्षिक पुण्य तिथिहरूमा।
आज पनि छन् कयौँ मञ्जुश्रीहरू
जो खन्दै छन् चिहानमा फेरि कब्रस्तान
खोजिरहेका छन्
मुडी राजाले पुरेका मानिसका कङ्कालहरू
र
थप्दैछन्
त्यही चिहानमा विचार र आत्माहरू।
यसरी
मञ्जुश्रीले खनेको खाल्टोमा
आज पुरिन आटेको छ सिङ्गो देश
त्यो खाल्टो बाहेक देशको अस्तित्व छैन
त्यो खाल्टो बाहेक अन्त कुनै देश होइन।