असहमति

अगस्ट 24, 2026 · कविताहरू · 2 मिनेट पढाइको समय

इतिहास बलात्कारित भएर
जन्मिएको हो तिम्रो वर्तमान
तिमीले भोगिरहेको समय
इतिहासको नाजायज सम्बन्धको उपज हो।

तिमी ठान्छौ आफूलाई विद्रोही?
तिमी चाहन्छौ स्वतन्त्रता?
तिमी भन्छौ देश?
तिमी कोर्छौ सिमाना?

तिम्रो स्वतन्त्रता,
तिम्रो इतिहासको मोजमस्ती हो
तिम्रो सिद्धान्त,
तिम्रो विचारले भोगेको जबर्जस्ती हो।

तिमी जो ठानिरहेछौ आफूलाई विद्रोही
तिमी आफैँ आन्दोलनको एउटा श्राप हौ
भविष्यले तिमीलाई धिक्कार्नेछ
नयाँ पुस्ताले तिमीलाई थुक्नेछ
यही हो राजनीति
तिमी नै हौ राजनीतिज्ञ।

तिम्रो संविधानमा
नअटाएको धाराको उपधारा हुँ म
जो तिमीलाई
लेखिरहेको छु, तिम्रो संविधान जलेको धुवाँबाट।