प्रेम युद्ध

अगस्ट 14, 2026 · कविताहरू · 2 मिनेट पढाइको समय

परिधिमा खुन बगेको छ
देशको परिधिमा
समयको परिधिमा
समाजको परिधिमा
सम्बन्धको परिधिमा
तिमी भन्छ्यौ
आऊ परिधिभित्र रहेर प्रेम गरौँ

साहेबा,
परिधिको नशा नशामा खुन छ
परिधिको हरेक आशामा खुन छ
प्रेम परिधिभन्दा अलिक टाढा हुन्छ
अपसोच
तिमी आफ्नो सहरभन्दा बाहिर गएकी छैनौ..

यसका बाबजुदपनि प्रेम हुन
कि प्रेमी खुनी हुनुपर्छ
कि त प्रेमी रुमी हुनुपर्छ॥